

पोखरा । नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उनले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’
९ असोज २०७२ मा तत्कालीन नेकपा माओवादीलाई ‘रातो स्टिकर टाँसिएको घर’ घरको संज्ञा दिँदै बाहिरिएका डा. भट्टराईले ३० जेठ २०७३ मा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे
नयाँ शक्ति घोषणा भएको १ वर्षभित्रै २०७४ सालको चुनाव आइहाल्यो । २०७४ को स्थानीय तहको चुनावमा नयाँ शक्तिले अपेक्षित जित निकाल्न नसकेपछि प्रदेश तथा संघको निर्वाचनमा आफूले चुनाव जित्न कांग्रेससँग तालमेल गरे । उनलाई साथ दिने सहकर्मीहरुले पनि छोड्दै गए । नयाँ शक्तिको एजेण्डा जनतामाझ परीक्षण नै हुन नपाईं डा. भट्टराईले आफ्नो लागि कांग्रेसको वैशाखी टेकेर चुनाव लडेको आरोप लाग्यो ।
गोरखा-२ मा माओवादी केन्ऽका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गर्दै भट्टराई विजयी भए । गण्डकी प्रदेशका गोरखाबाटै एक जना प्रदेश सभा सदस्य प्रत्यक्ष र एक जना समानुपातिक सांसद नयाँ शक्तिबाट बने तर अन्यत्र हार व्यहोर्यो । देशलाई समृद्धिको युगमा लैजाने घोषणा गरेको नयाँ शक्ति आफैं गोरखामा मात्र खुम्चियो ।
२०७६ वैशाख २३ गते डा. भट्टराईले नयाँ शक्ति र मधेसकेन्दि्रत दल संघीय समाजवादी फोरमबीच पार्टी एकता भयो । पहिले उपेन्द्र यादव र पछि महन्थ ठाकुरसँग समेत एकता गर्दा बनेको जनता समाजवादी पार्टी पनि पालैपालै फुट्यो । पार्टी एकता गरेर एउटा चुनाव पनि जनतामाझ जान नसकेर डा. भट्टराईले फेरि नयाँ पार्टी नेपाल समाजवादी पार्टी खोलेका छन् र अबको चुनावमा माओवादीसँग मिलेर जाने निर्णय गरिसकेका छन् ।
‘माओवादीबाट किन बाहिरिए, किन नयाँ शक्ति खोले, किन जनता समाजवादीसँग एकता भयो र फेरि किन उही माओवादीसँग मिल्ने हो ? कुनै पनि औचित्य पुष्टि हुन सकेको छैन,’ नेपाल समाजवादी पार्टीकै एक केन्द्रीय सदस्य भन्छन्, ‘डा. भट्टराई आफूलाई मात्र केन्द्रमा राखेर निर्णय गर्छन्, अरुको बारेमा सोच्दैनन् । कतै पार्टी बनाउन नसकेपछि अन्तिम पटक चुनाव जित्न माओवादीको शरणमै आइपुगे ।’
यस पटक गोरखाबाट आफूले चुनाव जित्न माओवादीसँग मिलेको र अब वैकल्पिक पार्टीबाट थाकेपछि माओवादीसँग एकता नै गर्न खाजेको आरोप उनीमाथि छ । तर, डा. भट्टराई भने यो मान्न तयार छैनन् । पछिल्लो ५/७ वर्षमा विभिन्न ढंगले आफूहरुले राजनीतिक प्रयोग गरेको भट्टराईको भनाइ छ ।
‘यो ५/७ वर्ष हामीले विभिन्न ढंगका प्रयोग गर्यौं । हिमाल, पहाड, तराई, मधेस जोड्नलाई मधेस केन्दि्रत दलहरुसँग पनि हामीले एकता गर्यौं । त्यसले पनि केही समय लियो । अहिले पनि प्रयोगकै क्रममा छौं,’ भट्टराईले भने, ‘व्यक्ति आफूलाई केन्द्रमा राखेर मैले कहिले पनि सोंचिन ।’
एक पटक प्रधानमन्त्री र ३ पटक गोरखाबाट सांसद भइसकेकाले फेरि पनि सांसद बन्नकै लागि आफूले कार्यगत तथा पार्टी एकताको कुरा नगरेको भट्टराईको दाबी छ । उनको यतिसम्म दाबी छ कि, यो नै उनी लड्ने अन्तिम चुनाव हो ।
‘देशलाई योगदान गरिसकेको मान्छे, देशको प्रधानमन्त्री भइसकेको मान्छे, फेरि पटक पटक प्रधानमन्त्री हुने, सांसद हुने मलाई रहर होइन,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘के चाहिँ हो भने हाम्रो पुस्ताले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई पुर्यायो, अब योभन्दा अगाडि पुर्याउन पनि हामीले बाटो देखाएर जानुपर्छ भनेर मात्र लागि परेका छौं । मेरो निम्ति यो अन्तिम चुनाव हुन्छ ।’
२०७२ सालमा संविधान जारी भएपछि देशमा वैकल्पिक राजनीति तथा वैकल्पिक शक्तिको आवश्यकता छ भनेर सुरु गरेको अभियान विभिन्न चरण पार गर्दै नेपाल समाजवादी पार्टीसम्म आइपुगेको भट्टराईको भनाइ छ ।
अब एमाले, कांग्रेसको विकल्पमा अर्को शक्ति निर्माण गर्न आवश्यक रहेकाले माओवादीसँग पार्टी एकता नै गर्न लागेको भट्टराईले बताए । ‘नेपाल समाजवादीको मुख्य वैचारिक गुदी भनेको, पुँजीवाद र साम्यवादको विकल्पमा एउटा समाजवादी विचार भन्ने हो । समावेशी, संघीयता, सुशासन, समृद्धिलाई नै नेपाली अर्थको समाजवाद भनेर व्याख्या गरेका छौं । आगामी निर्वाचनमा यिनै विषयलाई लिएर जनताको माझमा जाँदै छौं,’ भट्टराईले भने ।
माओवादी नेतृत्व अब रुपान्तरण हुनुपर्छ भनेर आफूले अर्कै प्रसंगमा रातो स्टिकर टाँसिएको घर भनेकोमा मिडियाले गलत व्याख्या गरेको भट्टराईको गुनासो थियो । तत्कालिन माओवादीले गरेको ‘जनयुद्ध’ महान भएको बताउँदै भट्टराईले संविधान जारी भइसकेपछिको राजनीतिक कोर्स फरक हुनुपर्छ भनेर बहस भएको बताए ।
‘जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई पुर्यायौं, त्यो एउटा महान क्रान्ति थियो, राजनीतिक हिसाबले एउटा ठूलो ढोका खोलेकै हौं । तर, अब आर्थिक सामाजिक रुपान्तरण गरेर राष्ट्रिय औद्योगिक पुँजीको आधार तयार गरेनौं भने हामीले परिकल्पना गरेको समाजवाद आउँदैन,’ भट्टराईले माओवादीबारे आफ्नो विचार राखे ।