

भक्तपुर, कार्तिक ४ । विद्यालय स्तरमै राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्य सहित भक्तपुर नगरपालिकाले गत कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिरहेको विभिन्न खेलहरूको प्रशिक्षण चाैथो दिन शुक्रबार पनि चालु रहेको छ ।
हरेक दिन दुई सत्रमा संचालन भएको प्रशिक्षणको पहिलो सत्रमा खेलाइने खेलको सैद्धान्तिक र दोस्रो सत्रमा प्रयोगात्मक खेलको प्रशिक्षण भैरहेको छ ।
शुक्रबारको प्रशिक्षणको पहिलो सत्रमा खेल खेल्दा अपनाउनुपर्ने सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धमा ख्वप अस्पतालका डाक्टर विवेक न्याैपाने र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि, ब्लुक्रस अस्पताल तथा फुटबल, भलिबल, तेक्वान्दो र कब्बडीका फिजियोथेरापिस्ट डाक्टर राजेन्द्र खत्रीले प्रवचन दिनुभयो ।
सो प्रवचनमा डा विवेक न्याैपानेले खेल अनुसार शरीरको अंगहरूमा खिईएर चोट लाग्ने भएकोले कुनै पनि खेल खेल्नु अघि शरीरलाई वातावरण अनुकूल बनाउन सामान्य शारीरिक अभ्यास गर्नुपर्ने बताउँदै खेलले सामाजिक व्यवहारमा निपुण गराउने बताउनुभयो ।
डा न्याैपानेले खेलमा सहभागी हुँदा हुने सम्भावित दुर्घटनाबाट बच्न शरीरमा गरगहना तथा धातुजन्य वस्तुको प्रयोग गर्न निशेध गरिने बताउनुभयो ।
सोही दिन डा राजेन्द्र खत्रीले कुनै दबाब र तनाव नदिई विभिन्न उमेर र खेल खेलाडीको रूचि, शरीरको बनावट अनुसार भएमा खेलाडीले आफ्नो प्रतिभा देशको लागि राम्रोसँग प्रफुस्टन गर्न सक्ने बताउँदै सन्तुलित खानपिन, कसरत, आराम, मेहनतबाट स्वस्थ शरीरसँगै अशक्त भएका राम्रो खेलाडीलाई पुनःस्थापना गर्नुपर्ने बताउनुभयो ।
सोही दिनको दोश्रो सत्रमा त्रिभुवन विश्वविद्यालयको स्वास्थ्य तथा शारीरिक शिक्षाका प्राध्यापक शान्त बहादुर श्रेष्ठले कवाज र पिटीको प्रयोगात्मक प्रशिक्षण सैनिक महाविद्यालयको खेलमैदानमा दिनुभयो ।
सो क्रममा उहाँले सतर्क, बायाँ फर्क, दायाँ फर्क, गोडा फाट, गोडाचाल लगायत कवाजका आधारभूत सीप र पिटीका विभिन्न सीप प्रदान गर्नुभयो ।
भक्तपुर नगरभित्रका सामुदायिक र संस्थागत सहित जम्मा ४३ वटा विद्यालयका शिक्षकहरूले पनि खेलका प्रयोगात्मक सीपहरूलाई खेलकै माध्यमबाट सिकेका थिए ।