

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सत्ता गठबन्धन दलका नेताहरु वार्तामा बसि सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको पाचौं बैठकमा बोल्दै घिमिरेले सरकारका अगाडी गम्भीर चुनौतीहरु थुप्रिएको भन्दै चुनौतीलाई सामना गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
‘म अप्रेक्षा गर्छु । अब छिट्टै गठबन्धनका दलका नेताहरु सघन ढंगले वार्तामा बस्नुहोस् र सरकार विस्तार गर्नुहोस् ।’-घिमिरेले भन्नुभयो- ‘सरकारका अगाडी गम्भीर चुनौतीहरु छन् । ती चुनौतीहरुलाई सामना गरेर अगाडी बढ्नुहोस् ।’
उहाँले छिटोभन्दा छिटो सहमतिमा पुगेर सरकारलाई पूर्णता नसके झन चुनौतीहरु थपिँदै जाने स्पष्ट पार्नुभयो । प्रदेश सभा सदस्य घिमिरे लुम्बिनीका उद्योगहरुले बैंक चर्को ब्याजको समस्या भोग्नु परेको स्मरण गराउँदै उद्योगका समस्याहरुको यथोचित ढंगले खोजी गरि समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
घिमिरेले लुम्बिनी प्रदेशको हिलो सरकारले सुरु गरेको रणनीतिक महत्वका केही आयोजनाहरु पछिल्लो सरकारको पालामा हराएको बताउँदै नवगठित सरकारले ती आयोजनाहरु खोज्नुपर्ने जिकिर गर्नुभयो । ती आयोजनाहरुलाई यथोचित बजेटको व्यवस्था गरि सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो ।
उहाँले संरचनाबिना नै रातारात प्रदेश सभा देउखुरी उपत्यकामा सारिनुले कर्मचारी संयन्त्रलाई हतोत्साहित बनाएको भन्दै कर्मचारीहरु सरुवा लिएर अन्त जाने प्रवृति देखिएको उल्लेख गर्नुभयो । कर्मचारीको यो स्थिति रहिरहे सरकारले काममा गति लिन नसक्ने भन्दै गम्भीर रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।